भो म कविता लेख्दिन

| | अनेसास इजरायल


वीजी श्रेष्ठ

विचारहरु छरपट्ट छरिएर
आत्माहरु लिलाम बिक्री
अिन
विश्वासहरु भाँचिएर
मनहरु टुक्रा टुक्रा हुदै गर्दा
कुहिएका लाशका थुप्राका
कुहिगन्धे गन्धहरुमा
निशासिएर नाक खुम्च्याउदै
भो म कविता लेख्दिन ।

वहिनी र भाऊजुको
निश्कलंक सिउँदोहरु
पखालिदै गर्दा
आगोका दनदनी लप्काहरुले
गाउँ वस्तीका लहरै लहर झुपडीहरु
अनि गोठ कटेराहरु
एकाएक सल्किदै गर्दा
कपाल खौरीएर
भग्रयाल्ती निर्दोश अवोधहरुको
मलामी जादै
भो म कविता लेख्दिन ।
नियम कानुनहरु भत्किएको
अनियन्त्रित कालमा
हार गुहारका चित्कारहरु सुन्दै
रोग र भोकको महामारीमा
अनिकालले दाविएको
पेटका खपेटाहरु हेर्दै
महङ्गीले आकाश चुलिएको
अव्यवस्थित बजारमा
रासन पानी र आलु प्याज मोल्दै
भो म कविता लेख्दिन
विश्वासहरु छिया छिया भएर
एकले अर्काको खुट्टा तान्दै
उचाल्दै पछार्दै तछाड मछाड
तानातान हानाहान
अनि काटामार हुदैगर्दा
बन्दुकको नालहरुमा छाती विसाएर
मुटुको धडकन् रोक्दै
खुकुरीको धारहरुमा पाईला टेक्दै
रगतको आहालहरुमा ठिङ्ग उभिएर
यूद्धको विगुल सुन्दै
भो म कविता लेख्दिन ।
लेख्दिन लेख्दिन
भो म कविता लेख्दिन ।













Posted by INLS Israel on 22:38. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com