मेरा रातहरू ! किन असभ्य र अश्लिल छन् त ?

| | अनेसास इजरायल

- अशोक पार्थिव तामाङ

मेरा रातहरू !
असभ्य छन्
अश्लिल छन्
अन्धकार छन्
शुनसान छन्
त्यसैले त म रात असाध्यै मन पराउँछु नि ।

मन पराउँनुको अर्थ जुन होइन ।
न्यानोको अर्थ घाम पनि होइन ।
मेरो मस्तिष्क यहि बेला ,
हतारिएर
वस्त्रविहिन हुन्छ ,
अनि अंकुरण हुन्छ
श्रृजनाका स्पर्महरू
यो मस्तिष्कको गर्भासय भित्र।

प्रत्येक रात मैले
निदाउँनुलाइ छुट्याएको छैन।
कुनै रात मनोगफमै भाले बसाँउछु।
कुनै रात पुस्तक पढेरै बिताउँछु।
कुनै रात कविता लेखेरै बिताउँछु।
कुनै रात स्वप्न परीको यादमै बिताउँछु।
मेरो रात नियमित छँदै छैन।
यसर्थ
मेरा रातहरू !
असभ्य छन्
अश्लिल छन्
अन्धकार छन्
शुनसान छन्
त्यसैले त म रात असाध्यै मन पराउँछु नि ।

मेरो बैंशको हिसाव माग्छ यो रात कहिले
मेरो सर्वस्व लान्छु भन्छ यो रात कहिले
मैले रातलाइ सम्पति दिने निर्णय गरेकै छैन।
किन भने मैले दिउँसो पनि त बाँच्नु छ।
चोइटिएका सपनाहरूको खाका
मिठामिठा प्रेमका कहानीहरू
पनि त कोर्नु छ दिनमा।
तर मलाइ जिस्क्याइ रहन्छ,
मलाइ चिमोटिरहन्छ ,
मेरा रातहरू !
अनि र पो
असभ्य छन्
अश्लिल छन्
अन्धकार छन्
शुनसान छन्
त्यसैले त म रात असाध्यै मन पराउँछु नि ।

छेउमै बोलाइरहन्छ ,
सुम्सुम्याँइ रहन्छ ,
पेमीले प्रेमिकालाइ
स्पर्श गरे जस्तै
अनि म लेख्छु
कसैको कथा
कसैको गीत
कसैको कविता
कसैको जोसिलो प्रेमपत्र
यसर्थ
मेरा रातहरू !
असभ्य छन्
अश्लिल छन्
अन्धकार छन् ,
शुनसान छन्
त्यसैले त म रात असाध्यै मन पराउँछु नि ।

मलाइ धरधरी रूवाउँने नि यिनै रातहरू हुन् ।
मलाइ गुदगुद्दी लागुन्जेल हँसाउँने पनि यिनै रातहरू हुन् ।
सुकुमार बैंसको मोल जोख्ने पनि यी रातहरू हुन् ।
गुराँसका हाँगा भाँच्ने पनि यिनै रातहरू हुन् ।
यसर्थ
मेरा रातहरू !
असभ्य छन् ,
अश्लिल छन् ,
अन्धकार छन् ,
शुनसान छन् ,
त्यसैले त म रात असाध्यै मन पराउँछु नि ।

छाती दुःख्दा मलम हुन्छ ,
एक्लो पर्दा साथी हुन्छ ,
घुर्क्याउँछ, दंग्याउँछ
प्रेयसीले जस्तै
जतन गर्छ
मालीले फुललाइ गरे झैं
यसर्थ
मेरा रातहरू !
असभ्य छन्
अश्लिल छन्
अन्धकार छन्
शुनसान छन्
त्यसैले त म रात असाध्यै मन पराउँछुनि ।

तपेश्वरी १ , उदयपुर

हालः ( इजरायल )

Posted by INLS Israel on 02:51. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com