एकै शिर्षकका तीन लघु कथाहरु

| | अनेसास इजरायल





शिर्षक "चौतारी"
(पहिलो कथा)


गाउँको बिचमा एउटा मनोहर चौतारी थियो ।
कतै टाढा हिडेको वटुवा थकाइ मार्न होस् वा घास दाउराको भारी बिसाएर जिन्दगीको गीत सुसेल्न आउने सबैलाई त्यो चौतारी आफ्नो छहारीमा प्रेमपूर्वक लुकाएर शितलता प्रदान गर्थ्यो ।
त्यो चौतारी जहाँ कति कचहरी बस्थ्यो, न्याय अन्यायको फैसला हुन्थ्यो । पन्डित बाजे रामायण वाचन गर्थे, लाहुरे बा लड़ाइँ र युद्धका कथा सुनाउथे । किशोर किशोरीहरु समूह बनाएर सामाजिक परिवर्तनका योजनाहरु बुन्थे । भित्ते पत्रिका निकाल्थे, सांस्कृतिक कार्यक्रम देखाउँथे । दशैं तिहार आउंथ्यो, लामो डोरी बाटिन्थ्यो र यसैको हाँगामा पिङ राखिन्थ्यो ।
एकदिन मोक्षप्रसाद सर चौतारीको त्यही हाँगामा झुन्डिएको भेटिनु भयो, पछाडी हात बाँधेर उनलाई गोली हानिएको थियो। विद्रोहीहरुले क्रान्तिको नाउँमा उनको निर्मम हत्या गरेका थिए ।
जनयुद्ध रोकियो देशमा ठूलो परिवर्तन भयो, गणतन्त्र नाम गरेको व्यवस्था आयो । तर त्यो चौतारीमा आजकल कोही पनि जान छाडेका थिए । कसैलाई कसैको मतलव हुन् छाड्यो, सामाजिक एकता र अपनत्वको भावना हराएझैँ लाग्न थालेको थियो । जजसले छाती भित्र एकता वा 'चौतारी'को अभाव महशुस गरेका थिए तर ती बोल्न नसकी भित्रभित्रै पिल्सिई रहेका थिए ।

न कसैको आगमन, न कुनै भेला । खैन किन हो, सबै जना डराउथे । चौतारी रित्तो र सुनसान हुन थालेको थियो ।
एक दिन नाति दौड्दै आयो र भन्यो हजुरबा हजुरबा ... मैले चौतारीमा मास्टरजीको भूत देखें । उनको आत्मा रोइरहेको थियो ।




शिर्षक "चौतारी"
(दोश्रो कथा)


गाउँ अहिले गाउँ थिएन , मेलापात, हाट बजार लाग्न छाडेको बर्षौं भैसकेको थियो। अधिकांश तन्नेरी तरुनीहरु गाउमा थिएनन, त्यसैले पारीसम्म सुनिने दोहोरी र लैबरीको भाका, अहँ कहीँ कतै गुन्जदैनथ्यो । गाउँको मध्ये भागमा रहेको चौतारीमा कति प्रेमी प्रेमिकाले कविता जस्ता मिठा प्रेम र अनुरागका संवादहरु गरे, मायाका स्वर्णिम पलहरु बिताए र न्यानो अंगालोमा आफुलाई हराएर जुनी जुनी संगै जिउने मर्ने कसम पनि खाए । वरपिपलको त्यो चौतारीमा लेखिएका ती सबै कथाहरु आज मेटिई सकेको थियो ।
दुखको कुरा मान्छे भौतिक हुदै गैरहेका थिए, उनीहरु मान्छे भित्र मन भन्ने नै हुदैन भन्थे र रुखलाई त अझ काठ मात्र देख्थे ।
गाउँको माझमा रहेको वर् पिपलको रुख पनि ढल्यो । त्यो ठाउँमा गाविस भवन बन्यो ।
आज गाविसमा सार्वजनिक छलफल कार्यक्रम भएकोले म पनि त्यहाँ पुगें । एउटा सानो हल भित्र थियो कार्यक्रम । आयोजक, अतिथि, पत्रकार लगायत सबै उपस्थितहरु आ-आफ्नो आसनमा बसे । छलफल शुरु भयो । अगाडी ठुलो ब्यानर टांगिएको थियो - लेखिएको थियो "छलफल चौतारी" ।
छेउमा एकजना सिकर्मी दाजु पारिश्रमिक लिन आउनु भएको थियो, उनीबाट के थाहा पाएँ भने कार्यक्रम हुने बैठकमा भएका टेबल कुर्सि दराज लगायतका सम्पूर्ण फर्निचर त्यही बर र पिपलको चौतारी अथवा रुख अथवा काठबाट बनाइएका हुन् ।
लाग्यो "छलफल चौतारी" त्यतिकै कहाँ लेखिएको रहेछ र ?




शिर्षक "चौतारी"
(तेश्रो कथा)


नयाँघरे काकाको छोरा 'समय' लामो समय विदेश बसाइ पछि घर फर्कियो । उसका आफन्त र साथी संगीहरुले उसलाई विदेशको बसाइ र रहनसहनका अनुभवहरु सुनाउन अनुरोध गरे, केटाकेटीहरु पलेटी कसेर सुन्न बसे ।
समय भन्दै गयो - रमाइला र रोचक अनुभवहरु त कति छन कति, लेख्यो भने त सिङ्गो किताबै तयार होला तर ती दिनचर्या र अनुभवहरुको थुप्रोमा एउटाचाहिँ सबैभन्दा माथि छ । त्यो हो, एउटा चौतारी, जहाँ हामी फुर्सद हुने बित्तिकै भेला हुन्थ्यौं र मिठा मिठा गफ गर्थ्यौं र अहिले पनि गर्छौं । एउटा नजानिँदो बानीजस्तै बसेको छ ।
सबै मुखामुख गर्न थाले, गाउमा त छैन अचेल चौतारी कहाँबाट भेट्यो यसले विदेशको शहराँ ? पत्याउनेको भन्दा नपत्याउनेको संख्या धेरै भयो । कोही कोहीले चाहिँ समयको चौतारी कुनै अमुर्त वस्तु वा विषयप्रति लक्षित हुनु पर्ने आशंका व्यक्त गरे ।
उनीहरुको आशंका सही निस्कियो । समयले कम्प्युटर खोल्यो, फेसबुकको झ्यालबाट एउटा गज़बको चौतारी देखियो, जहाँ गीत, गज़ल, कथा, कविता लेख्ने देखि गीत गाउने, चित्र कोर्ने वा यी सबै हेरेर रमाउने थुप्रै मान्छेहरु छपक्क भेला भै सकेका थिए ।


कृष्णपक्ष,इजरायल



Posted by INLS Israel on 12:02. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com