'एउटा चिरस्मरणिय अनुभुतीमा साहित्यिक मनहरु'
दीप्स शाह
deepssaanu@gmail.com

एक झोँका चिसो सिरेटोले झ्यालबाट नमिठो आक्रमण गर्दा आँखा उघ्रेछ बिहान ७ बजे । ओहो!! बेला भएछ उठ्ने, आँखा मिच्दै ब्लान्केट हुत्याएर बिस्ताराबाट निस्केँ र सरासर सिटिङ्ग रुममा पुगेँ जहाँ हिजो राती थन्क्याएको आजको पिक्निके किनमेल अलपत्र थियो। ८ बजे त साथीहरु आउनसुरु होला! हतारो हतारो बाथरुम घुसेर हात मुख धोएर तयार हुन थालें। तर बाहिरको गड्याङ्गूड्उङ्ग ले ध्यान तान्यो। निस्केर बारान्डामा उभिएँ अनी मन अमिलो भयो। कती रहर र उत्सुकताले आज साहित्यिक बनभोज जुराएको , टाढा टाढा देखी पनि साथीहरु आउने कुरो छ तर यो बदमाश मौसम!! बेसरी हावा हुण्डरिले बाहिर सडक किनारका छोकडे बोटका पातहरु लछार्दैछ। त्यसैमाथि सहारा मरुभुमी देखी इजिप्सियन बगरका धुला उड्दै आएर हिजै देखी कुहिरिमन्डल छ निस्पट्ट केही देखिन्न यताउता। यस्तोमा कस्तो बनभोज होला, उसै माथि आज एक कृति पनि बिमोचन गर्ने कार्यक्रम छ, दुताबास देखी पनि अतिथी आउने कुरो छ उफ्फ्फ्फ!!! के साइत नपरेकोहोला!! एक्छिन घोरिएर बसेंँ बरण्डामै र नियालिरहेँ हुरिको झोँकासङै लर्बरिँदै गन्तब्य पुग्न लम्किरहेका पदयात्रीहरु अनी रातो बत्तिमा उभिएका लामबद्द सिटी बसका ताँती।
जे होला होला भनेर सलादको काँक्रो र गाजर धोएर काट्न थालेँ। तर मन अमिलै थियो मौसमको छुच्याइँले। टाढाटाढा देखी साथीहरु आउनुपर्ने हुँदा समय त लाग्छ नै। ८ बजे तिरबाट मेरो सेल फोन ट्याँटुँटुँ गर्न थाल्यो। सोचेँ कती मित्रहरुले मौसमको कारण आउन नसक्ने कुरा दर्साउन खोज्नुभयो होला! बलैले फोन ॠषिभ गरेर हेल्लो! भन्दा त कहाँँ हुनु?? मौसमको कारण सिटी बसहरु निकै लामो लामो जाम पर्दा अलिक अबेर हुन्छ होला ,,पर्खनुस् है सँगै निस्किनुपर्छ ! भन्न लाई पो रहेछ! म खुशीले तिन्बित्ता उफ्रिएँ। कोही रमतगान तिर, कोही हाइफाबाट ट्रेन भर्खर चढेँ ,कोही होलोन तिर भर्खरै निस्केँ कोही सुकमा कुखुराको पखेटा किनेर पोल्दैछौँ , कोही मम चना लिन जादैछौँ कोही के कोही के ओहो!! कस्तो उत्सुकता! कस्तो सौहाद्रता!! कती लगाब!! मौसम बाहिर यस्तो थियो कि मिलेसम्म बिहेकै लगन भएपनी अर्को दिनलाई सार्नुपर्ने अवथा जस्तो। तर पनि यि तमाम साहित्यिक मनहरुको कत्रो स्फुर्ती!!!
जे होस् यो सब आत्मादेखिको लगाब थियो साहित्यप्रतिको। बिस्तारै समय लम्किँदै गयो। साथीहरु आउने क्रम बढ्यो एकैछिनमा मेरो साँघुरो अपार्ट्मेन्ट को सिटिङ्ग रुम खचाखच भयो। तै पनि मौसमको असाध्य बैमानिले निर्धारित भन्दा निकै ढिलो गरी हामी लग्भग ३० जाना जतिको डफ्फा तेलअभिब सहरको लेबिन्स्की पार्क छेउको एड्भान्स मनि ट्रान्फरको प्राङ्गणमा उभियौँ। लग्भग ११ बजाइसकेछ घडीले तर यतिबेला सम्म एक घुट्को चिया पनि परेको होइन पेटमा। कबी मित्र हरी मानन्धर ज्युले सोध्नुभयो ,"दीप्स जी! केही समस्या छ कि??" उत्तर दिएँ,"अरु त ठिकै छ चिया सम्म भेटेको छैन त्यही मात्र हो समस्या"। अनी सुटुक्क अर्कोकर्नर तिर बोलाउनुभयो ,,सम्स्या त उही रहेछ उहाँको पनि। सुटुक्क लुकेर हामी एउटा सानो चिया दोकानमा घुस्यौँ र हतारोमा मुख पोल्दै तातो चिया घुट्क्याउँ उता साथीहरुलाई पत्तै भएन!
अनी लाग्यौँ ३२ नम्बरको सेरुतमा जती जती सिट खाली छ् त्यतिनै बस्दै हाम्रो आजको गन्तब्य रमतगान स्थित नेसनल पार्क (स्थानिय भाषामा 'पाक ल्युमी') तिर। सन्जोगले म लगायत उमा जी, इन्दिरा जी , सबु जी, रिता जी, भगवती कँडेल बहिनी चढेको सेरुत पहिलो परेछ त्याहा पुग्ने अनी त हतारोमा हुरिको झोँकाले कपाल उडाएको वास्तै नगरि पार्कमा लडिबुडी गर्दै अनी रुखमा चढेर समेत निकै तस्बिर लियौँ जो देखेर पछी मनु लोहोरुङ्ग सिस डाहाले खुम्चिनुभएको थियो हाहाहा। त्यो यस्तो पल थियो लग्भग एकादुइ बाहेक हामी सबै व्याबहारिक र बच्चाको आमा हुनुको अनुभब र अवस्था पनि भुलेर उन्मुक्त खुशीले आल्हादित थियौँ। परदेशमा रहनुको, आफन्तसँग टाढा हुनुको, चौबिस घन्टे ड्युटिको सुसारे कामको सबै सबै बोझ र तिक्तता भुलेर यसरी खित्कियौँ ,,यस्ता स्वर्णिम पलहरु कमै आउँछन जीवनमा। त्यसबेला मैले सम्झें साहित्यकार मित्र हेमन्त परदेशी ज्यु को भनाइ," यि हुन् जिन्दगीका माइलेजहरु"।
एकैछिनमा अरु साथीहरु पनि आउनुभयो हात हातमा पोकापन्तरा सामलतुमल अनी अनुहारमा प्रदिप्त खुशी सँगै मनभरी साहित्यिक प्रफुल्लता बोकेर।कोही भुइँमा तन्ना ओच्छ्याउने, कोही आगो बाल्ने, कोही खानपिन्को ब्यबस्था मिलाउने कोही झल्याकझुलुक फोटो खिच्ने तिर लागियो। घरको दसैंको याद दिलाउनेगरी नयन्द्र दाईले घुँडा मारेर कुखुरे पखेटा मोल्नुभयो। सोमेन्द्र जीले हातै पोलुन्जेल पखेटा सेक्दै साथीहरुलाई बांड्नुभयो। कोही साथीहरु शाकाहारी हुनाले आँफैले घरबाट खाना ल्याउनुभएको थियो। ठट्टैठटामा मनि लोहोरुङ्ग जी, हरी मानन्धर जी र सुमन कार्की जी ले भेजेटेरियन पखेटा भन्दै पेट मिचिमिची हँसाउनुभयो। तर यतिबेरसम्म हुण्डरिले आफ्नो ड्युटी रोकेको थिएन,, यती हो कि ति सब साहित्यिक मनहरुलाई त्य्सको पर्बाह थिएन। सिल्भर कागजी ट्रे हुरिको झोँका सँगै उड्दा पछी पछी कुदेर पनि भेट्न नसकी उसै फर्केर आउँदा कुमार दाइले कम्ती हँसाउनुभएन। नयन्द्र दाइले त खानुनै भएन उहाको पुस्तक बिमोचन गर्ने खुशी ले। यस्तै हंसिमजाकमा हुरी र फाट्फुटे बर्षाको दोहोरिमा खानेकाम हतारोमा सक्यौँ। त्यै माथि जाडो यस्तो थियो कि मुटु छेडेर झ्याङ्प्वाल पारीदेला जस्तो।
त्यसपछी बर्षातले साम्राज्य बढाउन थालेपछि अलिक भित्ताको सेल्टरमा आड् लागेर आजको हाम्रो साहित्यिक छलफल र पुस्तक बिमोचन गर्ने योजना बनायौँ।

इजराएलमा रहेर आफ्नो रोजगारि सङ्गै साहित्यलाई माया गरेर आफुले सिर्जिएका रचना-संस्मरण सँगालो "मोड" को बिमोचनमा सर्जक दाई नयन्द्र चेम्जोङ्ग खुशीले फुरुङ्ग हुनुहुन्थ्यो भने उहाको मुस्कानलाई चार चाँद लगाउँदै हुनुहुन्थ्यो उहाकी धर्मपत्नी शान्ती चेम्जोङ्ग ज्यु। उक्त साहित्यिक कार्यक्रमलाई दुई भागमा सन्चालन गर्ने सोच अनुरुप पहिलो अन्तर्गत औपचारिक कार्यक्रममा "मोड" बिमोचन गर्नलाई कार्यक्रमको सन्चालन जिम्मा मैले लिएँ र अतिथिहरुलाई आसन ग्रहणको औपचारिकता निभाइयो। त्यसपछी नेपाली राष्ट्रिय गान गायन सङ्गै सुरु भएको कार्यक्रममा अनेसास इजराएल च्याप्टरका नवनियुक्त उपाध्यक्ष श्री शंकर पौडेल (कुमार) ज्युले स्वागत गर्नुभएपछी नै "मोड' लाई सर्जक नयन्द्र चेम्जोङ जी, शान्ती चेम्जोङ्ग जी ,प्रमुख अतिथी अनेसास केन्द्रिय सचिब हरी मानन्धर जी र अनेसास इजराएल च्याप्टर अध्यक्ष तथा कार्यक्रम सभापति श्री कृष्णपक्ष ज्यु बाट सामुहिक रुपमा बिमोचन गरिएपछी छोटकरिमा वक्ता सोमेन्द्र घिमिरे , उमा सुबेदी, हरी मानन्धर ,सर्जक नयन्द्र चेम्जोङ ज्यु बाट कार्यक्रम, साहित्य र "मोड" बारे प्रकाश पारीयो र लगतै सभापति बाट प्रमुख टिपणी सङ्गै औपचारिक कार्यक्रम समाप्तिको घोषणा पनि गरियो । मौसमले हतारिन वाध्य पारीरहेको थियो। यसबेला सम्म बर्षातले हुण्डरीलाई उछिनेर आफ्नो वास्तबिक रुप प्रदर्शन गर्न थालिसकेको थियो।
त्यसपछी अनौपचारिक् कार्यक्रम अन्तर्गत उपस्थित मध्यधेरै साथीहरुले आ-आफ्न रचना वाचन गर्नुभयो। पहिलो पटक त्यसइदिन प्रतक्षताको अवशर जुरेका सह्रिदयी साहित्यिक मनहरु रिमा साईराम, इन्दिरा प्रयास, भगवती बस्नेत, भगवती कँडेल, रिता राइ लगायत अन्य साहित्यिक मनह्रुको गजल कबिता को रौनक सङ्गै अन्य बिबिध रचना प्रस्तुतिले झरिको मौसमलाई काब्यिक तातो दिएको बेला अर्का मित्र सुमन कार्कीले आउँदैगरेको एल्बम बाट एक बियोगान्त गीत स्वर र लयमा प्रस्तुत गर्नुहुँदा साथीहरु झरी भुलेर मुस्कुराउँदै हुनुहुथ्यो। इजराएलमा रहेर कबिता सिर्जनामा अत्यन्तै प्रखरता देखैसक्नुभएकी सशक्त कबी मनु लोहोरुङ्ग जी को कबिताले मलाई निकै बेर घोत्ल्याएको थियो। मन त थियो त्यो झरिमा अझै रुझुँ ,, गीत कबिता र गजलका केस्रा केस्रामा उन्मुक्त खुशी सँगै नाँचु गाउँ तर समयले कहाँ पर्खिन्छ र! घडी ले दिउसोको ४ बजाउन लागिसकेको थियो।
हतारो हतारो बाटो लाग्यौँ कार्यक्रमको समाप्ती सँगै मनभरी उही झरी, उही खुशी र उही जमघटको न्यानो अनुभब बोकेर। यो अनुपम भेटघाटमा मन खोलेर उपस्थिती जनाई कार्यक्रममा रौनक थप्नुहुने सम्पूण हर एक साहित्यिक मनहरुलाई मुट्ठी उचालेर सलाम भन्दै जो जो चाहेर पनि आउन सक्नुभएन बिबिध कारणले उहहरुलाई यस्तै अर्को कार्यक्रममा भेट्ने आशा र विश्वाश गर्दै धन्यवाद दिन चाहेको छु र यो कार्यक्रमको खबरमा संसारका कुनाकुनामा रहेर भाबनात्मक उपस्थिती जनाइ सफलअताको कामना गर्नुहुने सम्पूर्ण साहित्यिक हृदयहरुलाई हार्दिक हार्दिक आभार भन्दै तेलअभिब शहरबाट सबै साथीहरुसँग छुटेर ड्युटी स्थान तिरको बसमा चढेपछी झ्यालबाट बाहिरको झरिको थोपाथोपामा उही दिउसोको खुशी नियाल्दै म कताकता हराइरहेँ ,,बस् गन्तब्य तिर गूड्दै रह्यो।


