"मैले देखे भोगेको भिन्नता।

| | अनेसास इजरायल

२६,जेठ २०६८ बिहीवार कान्तिपुर प्रवास, (कतार)मा छापिएको मेरो एउटा लेख (सम्पादनपूर्ब) यहाँहरुको निमित्त हाजिर छ।



मैले देखे भोगेको भिन्नता।
एका बिहानै दैलो उघारेर एसो बाहिर हेरेको, एउटा ठिटो घुर्रछर्रन बाइकमा आयो। बाइक साइडमा राखेर पन्जा लगाएको हातले सडक पेटिबाट केही टपाटप टिपेर बाइकको पछाडि बाकसमा हाल्यो अनी जसरी बत्तिदै आयो उसरिनै हुइँकेर गयो। घरकै छेउमा यो कृत्य केहीपटक देखेर पनि भेउ पाउन सकिन कि ठिटो बिहानै के टिप्न आउंछ!! एकदिन अलिक छिप्पिँदै गरेको बिहान पोस्ट अफिसतिर लम्किँदै थिएँ शायद उही ठिटो हुनुपर्छ छेउमै आएर बाइक अड्याउँदै "एक्स्क्युज मि!!" भन्यो। कुकुरहरु घुम्डुल गर्दागर्दै भ्याइदिने प्राकृतिक कृत्य (आची) जो सडकको पेटिमा सुकेर लडिरहेको थियो, ठिटो ले एकै झम्टामा टिपी भ्यायो मेरो चप्पलछेउ बाटै र अरु आची खोज्दै अन्तै हुइँकियो। बल्ल मलाई मेसो भयो ठिटोले हर बिहान घरको छेउमा के टिप्छ भन्ने। फोहरका थुप्रोमा निस्सासिँदै हिँड्ने मुलुकको प्राणी न परेँ म! हो फोहोरका थुप्रामा अनगिन्ती भबिस्य पुरिएर बेपत्ता हुने देशको नागरिक म । एसो भन्नुमा मलाई कत्ती हिच्किचाहट छैन, सत्य यही हो। परदेशमा कुकुरको आची टिप्ने काम गरिएको र त्यो पनि मै हुँ भन्ने उमेर र अवस्थाको ठिटोले!! अचम्मको घनले हान्यो मेरो टाउकोमा टन! टन! टन!! त्यसपछी याद भयो, सम्पन्न मुलुकका सभ्य प्राणी यिनिहरु ,यिनले लग्भग घरै पिच्छे कुकुर पाल्छन् आवश्यकता भन्दा शौख बेसी होला भन्छु म। तर प्राय: सडकका पेटी गल्ली सुकिला हुन्छन् ,,रहस्य बल्ल पत्तो लाग्यो। सम्पन्न र बिपन्न मुलुकमा हुने अनगिन्ती भिन्नता मनमा केलाउँदै अली पर पुगेको थिएँ। एउटी गोरिले घ्याच्च कार रोकी र च्याँठ्ठीई," स्लिखा!! मा आत ओसा?? आत लो मित्बएसेत काखा लाजोब काकी सेला केलेभ बा मिद्राखा!!"(एक्स्क्युज मी! तिमीले के गरेको?? तिम्लाई लाज लाग्दैन कुकुरको आची बाटोमा छोड्न?!) छेउमा एउटा लुरे कुकुर डोर्याइरहेकीले जवाफ फर्काइ," रएगा! आनी मेखाका ओद ,,बेताख आनी इज्रोक ओतो बा पाख्!"(पखन !अरु गर्छ कि भनेर पर्खेको, अवस्य म फोहरको डिब्बामा फ्याँक्छु नि!') अनी बुझेँ त्यो मोरो लुरे कुकुरले हिँड्दाहिँड्दै बाटइमा बिस्ट्याएछ र लुरेकी मालिक्नी नदेखेझैँ अगाडि लम्किछन् ,,त्यो कृत्य कार हांक्दैगरेकी ठिटिले देखिछ र झपारिछे। हुनसक्छ कसैले नदेखेको भए त लुरेकी मालिक्नी फुत्किन्थी नै तर अफसोस कसैले देख्यो र टिपेर अलिक परको फोहर बाकसमा फालिन।
म सरासर हुलाक पुगेर आफ्नो पोस्ट बक्स खोलेँ अनी भएजतिको कागजपत्री बोकेर फर्किएँ । तर मेरो मनमा कुकुरको आची बटुल्ने ठिटो, बाटोमा बिस्ट्याउने लुरे कुकुर, उसकी मालिक्नी र कारकी ठिटी पालैपालो झुत्ती खेलिरहे।
-जेल पोतेर कपाल चुच्याएको ठिटो जो कुकुरको आची टिप्ने काम गर्छ तर उसको अनुहारमा कुनै ग्लानी, शरम छैन। बिन्दास आफ्नो काम गरेकोछ ,,बाइकमा उडेको छ। कमाइ गरेको छ। के म नेपालमै यसरी कुकुरको आची बटुल्ने काम आत्मसम्मान पूर्वक गर्न सकुँला!! अहँ मुस्किल छ। हाम्रोमा काम काम नै हो भनेर कर्मप्रती सम्मान गर्ने सभ्यताको बिकास भएकै छैन। हामी धनमा अवस्य गरीब छौँ। सोचमा झन धेरै कंगाल छौँ।
-कारमा सुइँकेर आउने त्यो गोरी ठिटी जसले लुरेकी मालिक्निलाई झपारी ,के हाम्रोमा त्यसरी सही कुरोमा सही समयमा कुरा उठाउने हिम्मत कसैमा छ?? म आँफैंमा छ?? अहँ छैन। मलाई मात्र किन टाउको दुख्नु!! फेरी उसै अर्काको झापार खानु छ र! तैँ टिप्न त ,त्यती सफाइको चासो भए! भनेर कन्पारो तताइभने बित्थामा। किनकी हामी आफुकेन्द्रित छौँ । सबैको भलाई सोच्ने न त फुर्सद छ न संस्कार नै। फेरी भन्नै परेपनी अन्तै पुगेर अरु सँगइ उसका बद्ख्वाइँ गर्ने हो,, सामुन्नेमा बोल्ने हिम्मतको बिकास हामीमा भएकै कहाँ छ र!
-नम्र भएर आफ्नो गल्ति स्विकार्दै सफा गर्ने ति महिलाको झैं सभ्यता हामी देखाउँला!! म देखाउन सकुँला!! अहँ किन देखाउने!! त्यो बाटो त्यो गोरिको बाउको हो? त्यसलाई के मत्लब, चाहे त्यो पनि आफ्नो कुकुर ल्याएर हगाओस् ,,,नत्र आँफै सफा गह्रोस् न साह्रै टाउको दुखेको भए! --किनकी हामीमा सरसफाइ सामाजिक श्वासथ सम्बन्धी नियम अवस्य बनेका होलान् तर व्यबहारमा प्रयोग हुने परिपाटी कहिल्यै बनेन। अझै भनुँ श्वासथ जस्तो सबेदनशिल सवालमा सुधार आउन नागरिक स्वयँ सचेत र जिम्मेवारबोधी हुनुपर्छ ,,जहाँ एकले अर्कोलाई सचेत गराउँदै जाँदा नागरिकको सचेतताका अगाडि सरकारले तर्जुमा गर्ने हरेकखाले साना ठुला नितिनियम संधै सफलतम झुक्छन्।

ए बाबा! हामी त्यती अज्ञानी छौँ त! बाटघाटा, तालतलैया ,सार्बजनिक स्थलमा बिस्ट्याउँदा सबैको स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्ने पनि जान्दैनौ त! अवस्य जान्दछौँ तर एउटाले बिष्ट्याएको थुप्रोको छेउमा नाक थुनेर अर्कोले बिसर्जन गर्दै अली पर पुगेर सचेतनाको ढ्वाँग फुक्न उद्ध्यत छौँ हामी। कुकुरको बिष्टा टिपेर फाल्ने त निक्कै परको कुरा हो।
प्रसंग सानो हो तर बिकाशित र अभाबग्रस्त मुलुकमा हुने स-साना भेद मध्य यो एक भेद के तितो सत्य होइन र!!???

Posted by INLS Israel on 02:22. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com