इजरायलमा वसन्त ऋतुको आगमनसँगै रंगीन काव्य उत्सव मनाइँदै



 रंगीन मौसम वसन्त ऋतुको आगमन सँगै मनाइने रंगहरुको पर्व होली (फागु पुर्णिमा) र इजरायली रंगीन उत्सव 'पुरिम' को अवसर पारेर इजरायलमा एक साहित्यिक कार्यक्रमको आयोजना गरिएको छ ।

'रंगीन काव्य उत्सव' नाम दिइएको सो साहित्यिक कार्यक्रम यही आगामी मार्च १९ तारिख शनिबार तेल अभिभको एभेरेष्ट क्लबमा दिउँसो १२ बजेदेखि शुरु हुनेछ । इजरायलमा रहेका नेपालीहरुबाट गीत गज़ल कविता मुक्तक हाइकु लगायत विभिन्न विधाका छिटो समयमा प्रस्तुत गर्न सकिने रचनाहरु सुन्ने र सुनाउने कार्यक्रमका साथै इजरायल प्रवासमा बसेर हालसम्म कला, साहित्य र संगीत मार्फत आआफ्ना सिर्जनाहरु प्रस्तुत गर्दै आउनु भएका श्रष्टाहरुको योगदानको स्मरण र चर्चा पनि गरिनेछ ।

अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज इजरायलले आयोजना गर्न लागेको सो कार्यक्रममा इजरायलमा रहेर विभिन्न उदेश्यले स्थापित अन्य सम्पूर्ण सामाजिक संघ संस्था, इजरायलमा रहनु भएका नेपाली कामदार, विद्यार्थी, गैर आवासीय नेपालीहरु, व्यवसायी, कवि लेखक कलाकार तथा सबै खाले प्रतिभाहरु र नेपाली भाषा साहित्यलाई माया गर्ने सम्पूर्ण नेपालीहरुको उत्साहजनक सहभागिता र उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिएको छ । निमन्त्रणा पुग्न नसकेमा यही समाचारलाई आधार मानेर इजरायलमा हुन गइरहेको "रंगीन काव्य उत्सव" मा उपस्थित हुन समेत सम्पूर्ण नेपालीहरुलाई हार्दिक अनुरोध गरिन्छ ।

कार्यक्रमलाई स्थानीय रेडियो तथा संचार माध्यमहरुले प्रत्यक्ष प्रसारण गर्नेछन ।

Posted by INLS Israel on 13:34. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com