तिम्रो शहरमा अचेल

आज फेरी आएँ लौ, अर्को एउटा जेपिटी टासो लिएर । मूल कविता लेख्दै गरुँला , तर अहिलेलाई यही टाँस्न मन लाग्यो, त्यसैले जेपिटी भन्या... कारण ? कारण छ - कविता सुनाउन कार्यक्रम जाँदा वातावरण देखेपछी ट्वाक्क फुरेको .. ।

हितैसी मित्रहरुका सुन्दर पोस्टहरु आ आफ्ना ब्लगहरुमा चम्किरहेका छन । आफुचाहिं केही हप्ता अलि बढी नै व्यस्त भइयो र यो क्रम अगस्त महिनाभरि चल्ने तीव्र सम्भावना छ । वायरलेसरुपी चोर कनेक्सनले बेला बेला इन्टरनेट चोर्न नसक्नु, ड्युटीमा काखे निषेधित हुनु जस्ता पापी नियमहरु थपिनाले यस्तो भा' हो ।

खैर छाडौं अल्छीका बहाना कति छन कति...भनि साध्य छैन । त्यहि पनि पाठक {;)}वृन्दहरुलाई निराश नहुन अनुरोध गर्दछु :D ।

म बसेको प्रवासमा विभिन्न खाले नेपाली कार्यक्रमहरु भै रहन्छन, सामाजिक, सांस्कृतिक तथा राजनीतिक । विदेशमा रहेका नेपालीहरुमा यसरी सामाजिक चेतनाको विकास हुनु, बिभिन्न संघ संस्था हरुको स्थापना हुनु वा कार्यक्रम गरिनु आफैंमा सकारात्मक हो।

हुन त यस्ता आक्कल झुक्कल गरिने सुस्ते कार्यक्रमका के कुरा? नाचघर (डिस्को) र मदिरालयमा हरेक साँझ हुने मस्ती र धुम अनि चर्काचर्कीले हाम्रो "खास" परिचय गराएकै छ ।

यसपाला ढिलै भए पनि भानुभक्तलाई सम्झने सानु कार्यक्रम राखियो, कार्यक्रमभरि टिकट काटेर हेरिने सांस्कृतिक साँझ र पोइसो तिरेर नाचिने डिस्कोको "भरिभराउ" सम्झना आइह्यो ।

अनि कार्यक्रम मै एउटा कविता कोरियो ।


तिम्रो शहरमा अचेल

निधारभरि पसिना
आगो जस्तै बलेको सुर्य
मध्यदिनको यो प्रचण्ड गर्मी

शान्तिको -एउटा प्यासो वटुवा
एक अन्जुली पानी पिउने
कुवा खोजिरहेछ - तिम्रो देशमा ।
मानौं बालुवा जस्तै उसको छातीमा
युगौंयुगको प्यास अल्झिएको छ।

रम्घा जस्तै कैयौं गाउँहरु थिए
जहाँ रहरलाग्दा सपना बोकेका घांसीहरु हिड्थे
उकाली ओराली गर्ने थकित यात्रुलाई
पाटी र चौतारा बनाउदै ...
कुवा खनाउदै ...


खै त आज ?
किन अतृप्त यतिसारा प्यासहरु?
किन सुकेका जरुवाका मुहानहरु?

भानु के तिमीलाई थाहा छ?
अचेल हसिया भिर्ने घासीहरु घास बेच्दैनन,
यौवनको वल, रगत र पसिना बेच्न मुग्लान पस्छ्न
या बन्दुक भिरेर जंगल ।

ती फर्कदैनन गाउमा
र खनाउदैनन कुवाहरु,
जहाँ चिसो पानीको मूल बोकेका
आँत हरहर हुने घाँसे कुवाहरु
सुकिसकेका छन
खडेरीको खेत धाँजा फाटे झैं ।

शव्दहरु काव्यमा बुनिएर
सुरिलो भाकामा गुन्जने
कुनै साहित्यिक डबली छैन अचेल,
भानु तिमीलाई म कहाँ बोलाउँ?

तिम्रो शहरमा अचेल
रामायण पढ्ने जोकर हुन्छन,
उपेक्षित छ नेपाली भाषा,
घासीको कुवा जस्तै सुकेको,

नत्र किन हुन्थे यति थोरै तिमीलाई सम्झनेहरु,
किन हुन्थ्यो तिम्रो जन्म जयन्ती साँझ
यतिसारो सुनसान ??

यी हेरत,
तिम्रो श्रद्धा मनाउने कार्यक्रम
के कुनै डिस्को जस्तो भरिलो छ त?













Posted by INLS Israel on 16:08. Filed under , . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com