कुहिरोले धुम्म भोट

| | अनेसास इजरायल






कुहिरोले धुम्म भोट
सिरेटो र सिमसिम पानी
फुस फुस हिउँ बनेर खसिरहेछ
घरको सम्झना
आँखाको गहिरो गहिरो आकाशमा
र पग्लिरहेछ्न तप तप
यो झरी हो कि आँसु हो
बिरानो देशमा मदनहरु रुझी रहेछन ।

ल्हासाको सुन जस्तै
मुनाका उज्याला छायाहरु बोकेर
मायाका एक लहर श्वेत शिरिषहरु
छपक्कै फुलिदिन्छन
फिक्का फिक्का
लुक्याङ तलाउको रंग जस्तो
मनको आगनभरि ।

बाहिर तासिलिङ्गा उपवन
हावामा तैरी रहेछ ।

साग र सिस्नु कति खानु ?
लक्ष्मी! तिम्रो कथा आज पनि उस्तै छ
ठाउ ठाउँ फाटेका अभावका थोत्रा राडीहरु टाल्न
मदनहरु खाडी चाहार्दैछ्न
र चराउदैछ्न भेडाहरु ।

ल्हासा त एउटा कथा मात्र हो तिमीले लेखेको
लाला बालाका आङ ढाक्ने ठिहिरो रहर बुन्दै
ऊन टिप्न कहाँ कहाँ मात्र पुगेका छैनन् मदनहरु?

पखेटा लागेका पंक्षीले
चटक्कै गुंड छाडेझैं
खरको छानो उस्तै चुहिदो छ ।

एकसरो राम्रो लगाउनु
एक मुठी मिठो खानु
ऋणको पोको तिरेर फुक्की हुनु
वा सके धारो र पाटी पनि बनाउनु
कुन ठुलो इरादा छ उसको ?

न पोतालाको सुनको छानो ताक्छ उ
न इन्द्रको आसन नै आँक्छ उ

आमाका आँखाहरुमा
वा मुनाका ओठहरुमा
झिना मुस्कानहरु किन्ने
यस्तै यस्तै सपनाहरुको निष्ठुरी बर्खा
तर उसको सिरानीमा
हरेक रात पोखिईरहेको हुन्छ ।

लक्ष्मी! तिम्रो सानो नेपालमा
हरेक दिन उर्लन्छन
जुलुसका बाढीहरु र बगाउछ्न
नया नेपालको सप्पै खाका रचना

यो अराजक भिड
जहाँ शामिल हुन्छन
मुकुण्डो भिरेका आधुनिक बुद्धहरु
र नाघ्छ्न हिँसा र बर्बरताको पराकाष्टा
र ढाकिन्छ
अशान्ति र अव्यवस्थाको अँध्यारो
देशै भरि

कालो काग भएर
घरको नमिठो अखबार
आएर थपक्क बस्छ
अभागी चेतनाका हाँगाहरुमा
र ठुंग्न थाल्छ - मदनका मथिंगलहरु
जो मानेको चक्र जस्तै घुमी रहेछ ।

यो छुजिक्याङ बगैचा
युतोक स्याँपा र घाँसका सुन्दर गलैचा
अनि सुनको सुनौला सपनाहरु
सप्पै थाति राखेर
मदन, त्यो बासी घर
यतिखेर फर्कन्न भन्छ ।

जहाँ ओइलाएका छन
हासो र खुसिका फूलहरु
र ढुसी परेका छन
जीवनका संकेतहरु
उ किन यस्तो सोच्छ?
पलायनको एउटा बैरागी तगारो
उसको बाटो छेकिरहेछ ।

घरको मायापनि
के विहानको हुस्सु जस्तै हुन्छ?
घाम फैलिदै आएपछी
लुसुक्क अलप हुने
मनका पाखाहरुबाट

चुहिए पनि, फाटे पनि
अँध्यारैले ढाके पनि
घर त आफ्नै घर हो
ए कोहि भनिदेउ न उसलाई
आमा साह्रै बिरामी छिन ।

"भैसीहरु हिलो खेली रहेथे -
रात रातभरि राजनीतिका,
यस्तो सपना कसरी शुभ हुन्छ?
कतै फैलिन्छ कि महामारी
लघार्छ कि जम्मै गाउँ
चाहिएन सुन बरु बुच्चै बसुँला"।

मुनाले नजाती सपना देखिन ...
कति बस्छौ कुरेर मदन,
कुहिरोले धुम्म भोट?

यो कहाली लाग्दो बर्खा
आंधीबेहरी जस्ता दिनहरु
चुहिने छानो
भत्किएको पाखो
देउसी खेल्न यसपालिको तिहार,
के तिमी आउदैनौ मदन?

Posted by INLS Israel on 02:10. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com