मेरा परदेशी सपनाहरूसित म

| | अनेसास इजरायल

- अशोक पार्थिव तामाङ


खै मलाई नै थाहा छैन,
म के खोजिरहेछु ?
सपना ,बैंस,दौलत अथवा
कुनै स्वप्न भव्य महल।

मझेरीको साँझबिहान नियाल्दै ,
पँधेरीको पानीले प्यास मेट्दै ,
तल गैरीखेतको धान र
टारबारीको उखुहरुको रस खान छोडेर ।
अलपत्र सिसिफस् जस्तै
ब्यर्थ प्रयासमा आशाको झिल्को बालेर
मरुभुमिमा तातो आलु अर्थको घाम गोडिरहेछु ।

उमेरले तीन बिसा काटिसकेका
बा आमालाई एक्लै घरमा छोडेर ,
ढल्दो रात र उदाउँदो घामको प्रतिक्षामा
प्रत्येक निन्द्रा म निदाउँछु ।

चिल्ला कारको मोहले वा
सुःखबिलासका सपनाहरुले होकि खै कुन्नी?
जरूर म केही न केहीको लोभमै परेको छु र त म बिदेशिएहोला नि।
ति तारेगोरु र मालिगाइका गोठ ,
बारीभरी फुलेका तोरीका फुलहरु
कुनै स्व्प्न संसार भन्दा केही कम त थिएनन्
तर ,
ति सबै मेरा मानसपटल भरी छरप्रष्ट हुन्छन्।

म टिप्ने प्रयास गर्छु ।
तर सबै पानीका फोका बिलाएजस्तै
बिलाउँदै जान्छ देख्दा देख्दै ।
अलकत्र छापिएको सडकमा हेर्दा
मेरो सपनाहरुलाइ ,
तेज रफ्तारमा दोउड्ने मोटरगाडीले किच्दै किच्दै जान्छ
म सकी नसकी
थोरै भएनी सपना जोगाउने प्रयासमा हुन्छु ।

घरको छानो खरको थियो,
त्यस्को साटो टिन लाउनलाई पो होकी?
गाउँमै भएनी घडेरी थियो
शहरमा बसाँइ सर्नलाई पो होकी?
म केमा लोभिए ?

म पनि गैरे सान्दाइ जस्तै
लाहुरे सानमा हिंड्नलाइपो होकी?
झ्वाम्मै पैसाको थैली बुझाएर छिरें हवाइजहाजको प्वालभित्र
अनी आँखाभरी सुखका कल्पनाको ,खै के के हो के के ?………….

जेठा दमाइले सिलाएको लुगा
गोडा तिनेक बर्ष लाउँदानी फाट्दैनथ्यो ।
तर अचेल यो मन
क्षण क्षणमा फाट्छ ध्वारध्वार्ती
उफ् मेरा कल्पनाको संसार पनि।

बारीको ढिस्कोहरू, खेतका कान्लाहरू मैले नदेख्दा
रोटे पिङ् लिङे पिङ् बसेको चौतारीहरु ,
सम्झनाको याद अल्बममा पल्टाइरहेछु,
अनी भन्न मन लाग्छ आँफैले आँफैलाई
तँ पनि त बिदेशिइस् नि होइनर ?

अन्ततोगोत्वा
खान नपाएर पनि होइन,
लाउँन नपाएर पनि होइन,
ढिंडो गुन्द्रुक भएनी घरमै थिए ।
तर म सपनाको पछि लागेछु ।

सपना
मलाई छोडेर
बिच बाटोमै गायब भईदिएको छ यतिखेर ।
म अब प्रत्येक साँझको गोंधुलि अनी सुर्य प्रभातमा
बाँसको झाङमाथि बस्ने
बकुल्ला र ढुकुरको मिठो आवाजलाई
अनुभुत् गर्न पाइरहेको हुनेछुइँन ।

किनभने ,
म यतिखेर
वास्तविकता र कल्पनाको संसारको फरक बुझ्दैछु ।
सिरानी मुनिको फोटो हेर्दै
आँसुले भिजाएर परदेशका गर्तहरूमा।

तपेश्वरी १ , ( उदयपुर )

हालः इजरायल

नोटः यो कविता www.nayanepalonline.com बाट प्रकाशित भइसकेको छ।

Posted by INLS Israel on 03:06. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com