मातातिर्थ औंसी र म

| | अनेसास इजरायल


 
सिता बराल
जेरुसेलम, इजरायल
     

रातको बाह्र बजिसकेको थियो । म निदाउने कोशिस गर्दे थिए । मोवाइलमा एसएमएसको घण्टी बज्यो । खोलेर हेरे साथी मायाको रहेछ । एसएमएसमा नयाँ बर्षको शुभकामना र आज आमाऔसी पनि रहेछ है भनेर आएको थियो । हामीहरु यसैगरि हाम्रा चाडपर्वहरु एउटाले अरुलाई जानकारी गराउने गर्छाै । नयाँ वर्षको बारेमा थाहा भएपनि आमाऔंसी पनि आजै परेको छ भन्ने मलाई थाहा थिएन । यसवर्ष आमाको मुख हेर्ने दिन र नयाँबर्ष एकैपटक परेछ । नौं महिनासम्म कोखमा राखी यस धर्तीमा जन्मदिएर संसार देखाउने ममतामयी आमाको मुख हेर्नेदिन आजै हो भन्ने एसएमएसले मेरो निन्द्रा भगायो । म बरण्डामा निस्कीएर बसे । बरण्डामा चलिरहेको चिसो हावासंगै मेरो मन पनि वगीरहेको थियो । म एकोहोरो टोलाएर गहिरो सोचाईमा डुविरहे । परिवार इष्टमित्र र साथीहरुलाई सम्झे । मलाई साहै दुःखको अनुभव भयो । मेरो देश पनि यि विकशित देशहरु जस्तै भैदिएको भए आज म यि पर्वहरु परिवार साथी र आफन्तहरुसंगै रमाईलो गरि मनाइरहेकी हुन्थे होला । आज बिहानै देखि आमाको मुख हेर्न जाने हतार गरिरहेकी हुन्थे होला । अफसोच…! म यि पर्वहरु वास्तविकतामा होइन कल्पनामा विताइरहेकी छु । म मेरा बच्चाहरु र आमालाई एकैपटक सम्झन पुग्छु । मन धमिलो भएर आउछ । कोठामा आउछु र आमाको सम्झनामा उर्लेका भावनाहरु कपीमा उतारेर मन हल्का बनाउने प्रयास गर्छु ।



मातातिर्थ औसीको अगिल्लो दिनमा नै बा संग पैसामागेर किनमेल गरेर राख्थ्यौं । औंसीको दिन बिहानै आमाको मुख हेर्नुपर्छ आमालाई खुशी पार्नुपर्छ भन्ने हामीले बुझेका थियौं । खुशी पार्न केही काम गर्न नदिई पिढीमा बस्नलगाएर हामी काम गरिरहेका हुन्थ्यौं । निकै हतार जस्तै र सबैजना मिलेर काम गरेको देखेर आमा हामीहरुलाई हेरेर हास्नुहुन्थ्यो । हामीहरु भने आमा खुशीहुनुभयो भनेर मख्ख परथ्यौं । ठूलो चाडवाडमा जस्तै ब्यस्त र रमाईलो भएको अनुभव हुन्थ्यो हामीलाई । आजको दिन मिठोमिठो खान दिनुपर्छ भन्ने थाहा भएपनि अरु चाडवाडमा आमाले नै बनाउने हुँदा कसरी बनाउने भन्ने राम्रोसंग थाहा थिएन । अरु परिकार बनाउन आउदैनथ्यो । सुजीको हलुवा बनाउन धेरै सामाग्री नचाहिने छिटो र सजिलो हुने हुनाले सधैको आमा औसीमा त्यही बनाउने गर्थ्यौ। । विस्तारै ठूलाहुदै गएपछि भने अरु परिकारहरु पनि बनाउन थाल्यौ तर हलुवा भने प्रसादको रुपमा कहिल्यै छुटाएनौं ।



आमाबुवाकी छोरीमा जेठी हुनाले घरको काममा सहयोग गर्ने म नै थिए । आमालाई म भन्दा दुई वर्षले कान्छो बाथ रोग लागेको थियो । जुन रोग अझै पनि निको हुन सकेको छैन । म आमाका ति दिनहरु सम्झन्छु । हामीहरुलाई आमाले धेरै संघर्ष गरेर हुर्काउनु भयो बढाउनु भयो र पढाएर आफ्नो खुट्टामा उभीने हौसला दिनुभयो । म ठूली हुदै गए बिवाह भयो दुई बच्चाहरुकी आमा बने । म मेरो परिवार र बच्चाहरुको उज्ज्वल भविष्यको लागी परदेश लागे । आफ्नो संस्कार चाडपर्व र कुनैपनि पारिवारिक जमघटमा सामेल नभएको पनि चारवर्ष भईसकेछ । नेपाली पात्रो हेर्दै त्यहा समावेश हुने गरेका सम्झनाहरु मनभरि लिएर कामगर्नु पर्ने कस्तो बाध्यता चाडपर्वहरुमा हतार गर्दै थोरै समयको लागी मात्र भएपनि माईतीको आँगनमा जम्मा भएर रमाईलो गर्ने पर्वहरु मेरा लागी सम्झना मात्र हुन पुगेका छन् । मलाई आमाले अझै पनि सानै देख्नुहुन्छ । मेरो बारेमा धेरै चिन्ता लिनुहुन्छ । फोनमा जहिले पनि छोरी स्वास्थ्यको राम्रो ख्याल गर्नु तिमीले आटेको काम छिट्टै पुरा भएर फर्कन सक अबका दिनहरु परिवारसंग छुट्टीएर बस्न नपरोस भन्नुहुन्छ म उत्तरविहिन भएर सुनिरहन्छु । म आमाको ठाँउमा आफूलाई राखेर विचार गर्छु । मैले मेरी आमाबाट पाएको माया सिकाइएका चरित्र र असल छोरीमा हुनुपर्ने गुणहरु मेरो छोरीलाई दिन सिकाउन र प्रत्यक्ष अनुभव गर्ने समयदिन सकिन । बिवाह पूर्व मैले कहिल्यै आमाको काख छाडेकी थिइन । सबै चाडपर्वहरु आमासंगै मनाउदा कति रमाईलो हुन्थ्यो । आज म मेरा काखमा हुर्कदैगरेका बच्चाहरुलाई छाडेर उनीहरुको उज्जल भविष्यको लागी भन्दै परदेशमा दुःख गरिरहेकी छु । यो कतै गल्ती गरेकी त होइन भन्ने प्रश्न उठीरहन्छ । जुनकुराले मलाई साह्रै आत्मग्लानी हुन्छ ।



आज मलाई साह्रै सम्झना आइरहेको छ । बिहानै देखि हजुरको हँसिलो अनुहार हेर्न कति आतुर हुन्थे म । आमा हजुरले भित्तेपात्रो हेर्दै म फर्कने दिन गनेर बस्नुभएको छ । मलाई माइतीको आँगनमा मनाइने हरेक चाडपर्वहरुको सम्झना ताजा भएर आइरहेको छ । आज मेरा छोरीछोरीहरु पनि मनभरि मलाई सम्झदै आमाको काखमा लुटपुटीने रहर संगै आजका दिन उनीहरुका साथीहरुले आफ्नो आमालाई दिन भनेर किनेका खानेकुराहरु टुलुटुलु हेरीरहेका होलान………………। ।

सिता बराल 
जेरुसेलम, इजरायल   
               

Posted by INLS Israel on 11:14. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com