ए सुन्यौ! म त देशकी छोरी हुँ 'कबिता'

| | अनेसास इजरायल

ए सुन्यौ! म त देशकी छोरी हुँ


ए! सुन्यौ!??

एकधरो च्यातिएको स्वाभिमान

टाल्न नसक्ने

एकपाखो उध्रिएको मन

सिउन नसक्ने

हृदयका बन्जर बगरहरुमा

सँधै जिंग्रिङ्गग क्याक्टस उमारेर

कुन मुखले माग्छौ तिमी

म संग मेरा मोतिजडित मायाका लहरीहरु??

म त देशकी छोरी हुँ

माटो छोएर तिमीलाई वचन दिन्छु

कि,,आउ!

यो एक फोक्टा कलेजो

तिम्रै नाममा नामसारी गरिदिन्छु

तर भन्न सक्छौ

तिमी भित्र देश दुख्ने छाती छ भनेर?



उफ!

जिन्दगीको उकालो टेक्दाटेक्दै

पाइलाहरु बिचैमा तर्सिने

श्रमको कठिन् यात्राहरुमा चुकेर

आधिबाटै बाट फर्किने

काँतर मनको त्रसित पाखोमा

सँधै सम्भाबित दुर्घटनाको चिसो डर च्यापेर

कुन शब्दले माग्छौ तिमी

म सँग मेरा अटल विश्वासका भकारीहरु??

म त देशकी छोरी हुँ

हिमालको पानी छोएर तिमीलाई वचन दिन्छु

कि,,आउ!

यो पवित्र हृदयनै

एकमुष्ट सुम्पिदिन्छु

तर भन्न सक्छौ

तिमी भित्र देश धड्कने मुटु छ भनेर?



दिउंसै,

करेसामै पराइले आची गर्दो छ

सुँघेर हत्केलाले नाक पुछ्ने

गुन्युको धाँजाबाट

आमाको लाज चिहाउंदो छ

चुपचाप तर्केर

नदेखेझैँ गर्ने

बाबाको कछाड कमिजको टुक्रो

निर्लज्ज हाटमा लीलाम तोकेर

कुन हैसियतले माग्छौ

म संग कुर्मिको छाँगो झैँ निर्झर जवानी?

म त देशकी छोरी हुँ

लालिगुराँश चुमेर तिमीलाई वचन दिन्छु

कि,,आउ!

यो जिन्दगीको बहिखातामा

तिम्रै नाम लेखिदिन्छु

तर भन्न सक्छौ

तिमी संग देश बोक्ने काँध छ भनेर?



नत्र...

तिमी हेरेरै बस्नु

यो लालिगुरांशे जवानी

यो माया भरिएको मुटु

यो तराइको फाँट झैँ

सुरम्य हृदय

हिमालको पानी झैँ

कञ्चन पवित्र मनहरु

आकाश छुने गिरीझैं अटल विश्वाश

यो अंगंगमा मग्मगाएको बेलिचमेली

सिम्रिकझैँ राताम्य ओठका लालीहरु

यसै सुकिजाउन् मैले टेकेको माटोमा

तर तिमीले झैँ

स्वाभिमानी बैँश

दासतामा म कदापी लीलाम गर्ने छैन



म त देशकी छोरी हुँ

सुन्यौ??

म त देशकी छोरी हुँ।

दीप्स शाह
deepssanu@gmail.com

Posted by INLS Israel on 04:50. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com