कबिता

| | अनेसास इजरायल


"शायद भोलि पनि"


मेरो बागको (मैले मानेको)चुल्बुले लहरो

आकाशिँदै

बहकिँदै

पल्लो डिलको थांक्रोमा टेक्न खोज्दा

म टुलुटुलु मूकदर्शक थिएँ,

बिरोध थिएन मेरो

तर सम्मती पनि थिएन

त्यसबेला

पारी लम्केको आँकुरालाई

अंकुसे लाउन नसक्दा

खपिनसक्नु जलेको थिएँ,

जल्नु बल्नु र आँफैँ सकिनु

नियतिको यही कठघरामा

म उँघिरहेछु

उस दिन देखी

आज सम्म ..


शायद भोलि पनि.....!!।




मेरो हृदयको (मैले मानेको)एकल शप्तकोशी

उछालिँदै

इत्रिँदै

खोल्सी तिर सुटुक्क भंगालो फाट्दा

म लाचारि बिवश तटबन्ध थिएँ,

गुनासो थिएन मेरो

तर शुभेच्छा पनि थिएन

त्यसबेला

घुम्ती नाघेर उम्केको बेगलाई

बाँध हाल्न नसक्दा

हजार टुक्रामा बिभक्त थिएँ,

टुक्रिनु चोइटिनु र धुलिनु

नियतिको आरा-रेतिमा

म चिरीइरहेछु

उस दिनदेखि

आज सम्म..


शायद भोलि पनि..... !!।




बलिदानिको पराकाष्ठा

हो यो शायद

त्यागको अन्तिम घेरो

हो यो शायद

भाग्यको अम्लीसो ठिंगुरिएर दोब्रिँदा

मैले सहर्ष जीवनको झिक्रा झिक्रि बटुली

कुचोको मुठो कहिल्यै बाँध्न सकिन

फेरी पनि,

स्वनाम धन्य हुँ शायद,,

म घिस्रिँदै छु उही सुकेको बगरैबगर

म घिस्रिँदै छु ,,घिस्रिरहेकै छु ।।

Posted by INLS Israel on 10:37. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com