इजरायलका नेपालीलाई भानुभक्त स्वर्ण पदक
इजरायलमा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरुलाई नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भानुभक्त द्विशतवार्षिकी कार्यकारी समितिको सिफारिसमा भानुभक्त द्विशतवार्षिकीको उचाई प्राप्तिका लागि समर्पित भएर कार्य गरेकोमा "भानुभक्त स्वर्ण पदक" प्रदान गरेको छ ।
भानुभक्त द्विशतवार्षिकी कार्यकारी समितिका सल्लाहकार श्री नरेन्द्रराज प्रसाईका अनुसार ’भानुभक्त स्वर्ण पदक’बाट अलङ्कृत हुनेहरूमा कला, साहित्य तथा समाजसेवामा अनवरत रुपमा लाग्ने इजरायल रहनु भएका व्यक्तित्वहरुले सो पदक प्राप्त गर्नु भएको हो ।
यसरी इजरायलमा स्वर्ण पदक प्राप्त गर्नु हुनेहरुमा भानु द्विशतवार्षिकी समारोह इजरायलकी कार्यकारी समिति अध्यक्ष तथा साहित्यकार श्रीमती भगवती बस्नेत, साहित्य सेवामा समर्पित श्रष्टा तथा अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्ष थापा, इजरायलको नेपाली समुदायको सामाजिक क्षेत्रमा लामो समयदेखि संलग्न तथा गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद इजरायलका अध्यक्ष सुवास खरेल, साहित्यिक श्रष्टा तथा संचार क्षेत्रमा योगदान पुर्याउने सुनिता राई, साहित्यकार बिजे विद्रोही राई तथा साहित्यकार निर्मला खड्का र लक्ष्मी अनुरागी हुनुहुन्छ ।
उहाँहरुलाई सो पदक फेब्रुअरी इजरायलमा आयोजित भुमध्यसागरीय पर्यटन मेलाको अवसरमा नेपाली दुतावास इजरायलका राजदुत श्री प्रल्हाद कुमार प्रसाईले नेपाल पर्यटनबोर्डका वरिष्ठ निर्देशक आदित्य वराल तथा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव तथा प्रवक्ता मोहन कृष्ण सापकोटाको उपस्थितिमा प्रदान गर्नु भएको थियो ।
प्रत्येक बर्ष इजरायलमा हुने अन्तराष्ट्रिय भुमध्य पर्यटन मेला (इन्टरनेशनल मेडिटेरियन टूरिजम मार्केट IMTM) मा भाग लिन इजरायल आएको नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव मोहन कृष्ण सापकोटा सहितको टोलीको रोहवरमा नेपालको तर्फबाट IMTM मेलामा राखिएको स्टलको उद्घाटनको अवसर पारी इजरायलकालागि नेपाली राजदूत महामहिम प्रल्हाद कुमार प्रसाईको हातवाट स्वर्ण पदक प्रदान गरिएको थियो ।
इजरायल सरकार परराष्ट्र मन्त्रालयका महानिर्देशक (सचिव) अमिर हालेभीको उपस्थितीमा आयोजित IMTM मेला समुद्घाटन कार्यक्रममा बर्ष भरीका उत्कृष्ट इजरायली पर्यटन व्यवसायी, होटल व्यवसायी, टूर्स एऩ्ड ट्राभल अप्रेटर्सहरुलाई प्रशंसा स्वरुप मेडल पुरस्कार दिइएको थियो ।
कार्यक्रममा महामहिम प्रल्हाद कुमार प्रसाई साथमा उहाँकी धर्मपत्नी सिता प्रसाई, काउन्सिलर तथा उपनियोग प्रमुख खड्ग प्रसाद दाहाल साथमा उहाँकी धर्मपत्नी लक्ष्मी दाहाल, द्वितिय सचिव रोशन खनाल, दूतावासका सहचारी कमल कोइराला, नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिवको नेतृत्वमा आएको टोली लगायतको उपस्थिती रहेको थियो ।
१० र ११ फेव्रुवरी दुई दिन सम्म चलेको उक्त मेलाको ३० हजार सर्वसाधारणले अवलोकन गरेको बताइएको छ । मेलामा ७० देशका पर्यटन व्यवसायी, होटल व्यवसायी, टूर्स एण्ड ट्राभल एजेन्सीहरुले आफ्नो स्टल प्रस्तुत गरेका थिए ।
नेपालको तर्फबाट नेपाल टुरिजम बोर्डको संयोजकत्वमा ५ वटा पर्यटन व्यवसायीहरुले आफ्नो स्टल प्रस्तुत गरेका थिए । स्टल प्रस्तुत गर्नेहरुमा Himalayan Expedition, Adventure & Sports, King Akbar Travel & Tours, Karnali Travel & Tours र Euro Travel & Tours रहेका थिए ।



